जनकपुर, २२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म वर्तमान सातदलीय गठबन्धन दृढ रूपमा कायम रहने बताएका छन् ।
रौतहटको गौरमा नेपाली कांग्रेसले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले गठबन्धन सरकार स्थिर र प्रभावकारी हुने दाबी गरे ।
यादवका अनुसार दलहरूबीच भएका समझदारी र निरन्तरको सहमतिका कारण गठबन्धन आगामी निर्वाचनसम्म एकताबद्ध रहनेछ । मुख्यमन्त्री यादवले गठबन्धनकै आपसी छलफल र सहकार्यको आधारमा मन्त्रिपरिषद् विस्तार गरिने स्पष्ट पारे।
उनले प्रदेश शासनमा सुधार ल्याउने, दीर्घकालदेखि जारी बेथिति र अनियमितताहरूलाई अन्त्य गर्ने तथा सुशासन स्थापना गर्न आफू कटिबद्ध रहेको बताए ।
यस प्रदेशमा रहेका बेथितिहरू हटाएर सुशासन कायम गर्नु मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘प्रदेश विकासका सबै चुनौतीहरूलाई सामना गर्दै अघि बढ्छु।’ यादवले मधेशमा विगतदेखि देखिएका संरचनागत समस्या, ढिलो भएका विकास योजनाहरू तथा अन्य प्रशासनिक अवरोधलाई हटाउँदै कामलाई द्रुत गतिमा अघि बढाइने उल्लेख गरे ।
उनका अनुसार शिक्षा, स्वास्थ्य र कृषि—यी तीन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर प्रदेश सरकारले कार्ययोजना अघि बढाउनेछ । रोकिएका तथा सुस्त भएका परियोजनाको पुनरावलोकन गरिने र आवश्यक परे नयाँ योजनाहरू ल्याइने उनले बताए ।
छैटौँ मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपछि यादव आज आफ्नै गृहजिल्ला रौतहट पुगेका हुन् । जिल्लामा विभिन्न शक्तिपीठहरूमा पूजा–अर्चना गरेपछि उनले स्थानीयहरूद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भएर सम्मान ग्रहण गरेका छन् ।
स्थानीयवासीले नयाँ नेतृत्वप्रति आशा व्यक्त गर्दै यादवलाई विभिन्न स्थानहरूमा भव्य स्वागत गरेका थिए ।














