जनकपुर, २२ मंसिर। मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले जेन–जी पुस्ताका युवायुवतीलाई लक्षित गर्दै स्वयंसेवक प्रशिक्षण, परिचालन तथा रोजगारमूलक कार्यक्रमलाई पहिलो प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेका छन्।
सोमबार अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री यादवले प्रदेशमा आपतकालीन राहत तथा उद्धार कार्यका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावलाई समाधान गर्न युवा पुस्तालाई विशेष प्रशिक्षण दिएर परिचालन गरिने जानकारी दिए।
उनका अनुसार प्राकृतिक विपद्, दुर्घटना, स्वास्थ्य संकट तथा अन्य आकस्मिक अवस्थाको समयमा तत्कालिप्रतिक्रिया दिन सक्ने दक्ष मानवस्रोत प्रदेशमा अपर्याप्त रहेको छ, जसलाई सुधार गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ।
युवायुवतीलाई आधारभूतदेखि उन्नत स्तरसम्मको स्वयंसेवक प्रशिक्षण प्रदान गरी प्रदेशभरि परिचालन गरिने उनले बताए।
कार्यक्रमलाई रोजगारसँग प्रत्यक्ष जोडेर युवालाई आय–आर्जनका अवसर उपलब्ध गराइने र दीर्घकालीन रूपमा प्रदेशको आपतकालीन व्यवस्थापन क्षमतामा सुधार आउने मन्त्री यादवको भनाइ छ।
यसका लागि आवश्यक बजेट र संरचनागत तयारी अर्थ मन्त्रालयले नै सुनिश्चित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। मन्त्री यादव जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता समेत हुन्।














