काठमाडौं, २० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई वर्तमान राजनीतिक अन्योलताबाट निकास दिनका लागि फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्।
ललितपुर महानगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको दिगो विकास र सुशासनका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता अपरिहार्य भएको बताए।
उनले सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले भने, “यही राजनीतिक व्यवस्थामा हाम्रो भविष्य सुरक्षित छ भन्ने भावना जनतामा जागृत गराउनु आज सबैको दायित्व हो। नयाँ पुस्ताको चाहनालाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले आफूलाई समयअनुकूल रूपान्तरण गर्दै लैजानुपर्छ।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै विकासको जिम्मेवारी पूरा गर्न फागुन २१ गते हुने निर्वाचन अनिवार्य रहेको राष्ट्रपतिले स्पष्ट पारे।
उनले लोकतन्त्रको सबल भविष्यका लागि युवापुस्ताको चाहना सम्बोधन गर्न र मुलुकलाई सही दिशातर्फ अघि बढाउन निष्पक्ष र समयमै निर्वाचन महत्त्वपूर्ण भएको धारणा राखे।
राष्ट्रपति पौडेलले पूर्वाधार निर्माण मात्र नभई नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार आउने खालका कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए।
साथै, जनताका गुनासा, असन्तुष्टि र मागलाई नजिकबाट बुझ्न नेताहरू जनताको घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरणलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो।














