काठमाडौं, ९ कात्तिक । पछिल्ला केही वर्षदेखि राजसंस्था पुनःस्थापनाको अभियान चलाउँदै आएका व्यवसायी दुर्गा प्रसाईंले आफूले अब देश र जनताको हितमा सहकार्य गर्न चाहेको बताएका छन् ।
राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले विगतका गल्ती स्वीकार गर्दै ‘सुधारका लागि तयार’ रहेको अभिव्यक्ति दिएका हुन् । प्रसाईंले आफ्नो राजनीतिक यात्राको चर्चा गर्दै भने, ‘म विभिन्न दल हुँदै यहाँसम्म आएको हुँ।
कतिपय कुरा बुझेर गरेँ, कतिपय नबुझीकन। तर अब समय आएको छ, हामी सबैले मिलेर देश उठाउने ।’ उनका अनुसार नेपाल अहिले राजनीतिक, सामाजिक र आर्थिक अनिश्चितताबाट गुज्रिरहेको छ, र यस्तो अवस्थामा आपसी संवाद र सहमति अत्यावश्यक छ ।
‘देशलाई स्थिरता चाहिएको छ । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ,’ उनले जोड दिए । मुख्यधारका मिडियासँग लामो समय विवादमा रहँदै आएका प्रसाईंले पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग पनि खुलेर कुरा गरे ।
गत वर्ष राजसंस्था समर्थनमा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं कानुनी विवादमा परेका थिए । त्यस घटनापछि केही समय उनी विदेशमा रहे पनि पछि नेपाल फर्किएका थिए । अदालतको आदेशपछि मुक्त भएका उनले अबको आफ्नो अभियान ‘शान्तिपूर्ण संवाद र सुधारमुखी प्रयास’मा केन्द्रित हुने बताएका छन् ।
प्रसाईंले कात्तिक १५ पछि आफ्ना समर्थकहरूबीच ‘शान्तिपूर्ण कार्यक्रम’ गर्ने तयारी भइरहेको पनि बताए । तर गृह मन्त्रालयले अहिलेका लागि कुनै ठूलो सभा नगर्न आग्रह गरेको छ ।
प्रसाईंले मन्त्रालयको वार्ता पहलको स्वागत गर्दै भने, ‘सरकारले जनताको कुरा सुन्ने वातावरण बनाएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’














