जनकपुर, ३० भदौ । सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा ३० वर्षीय एक जना युवकको मृत्यु र १८ वर्षीय एक जना युवती घाइते भएका छन् ।
घटना आइतबार साँझ सुरुङ्गा नगरपालिका–५ स्थित जिनिस अस्पताल नजिकै भएको हो । मधेश प्रदेश–०१–००५–प ५५११ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग हुँदै कुशहाबाट कदमाहा जाँदै गर्दा सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा सुरुङ्गा–९ परमानपुरका ३० वर्षीय अनिलकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए ।
गम्भीर घाइते चौधरीलाई तत्कालै जिनिस अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उक्त मोटरसाइकलको पछाडि सवार सुरुङ्गा–७ चकदह टोलका १८ वर्षीय राधेश्याम चौधरी घाइते भएका छन् र उनको जिनिस अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














