काठमाडौँ, ११ भदौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् ।
कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको प्रस्ट भएको उल्लेख गरेका छन ।
उनले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा उल्लेख गर्दै भने, “हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको यो बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतङ्कित बनाएको बताए । उनले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको जनाउँदै गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिए ।














