काठमाडौं, ९ भदौं । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टीसँगै विभिन्न माग राखेर काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायी पुनः आन्दोलित भएका छन् ।
व्यवसायीले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरे । कवाड व्यवसायी, संकलक र मजदुरमाथि महानगर प्रहरीबाट कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्य भइरहेको भन्दै उनीहरूले तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति पनि दिनुपर्ने माग राखेका छन् ।
कवाड व्यवसायी समाजको आव्हानमा ५ बुँदे मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।














