काठमाडौं, ३ भदौ । सासंदमा उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।
त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएको छ । कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरु आउन थालेका छन् ।
त्यस्तै एमाले पनि सांसदहरूलाई बोलाएको छ । एमालेका एक सांसदका अनुसार दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई खबर गरिएको छ । कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो । महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेकोे थियो ।
उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको हटाउनेबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेको हो ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।














