काठमाडौँ, १ असोज । प्रतिनिधिसभाको विशेष समयमा सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन र शव पहिचानका लागि डीएनए परीक्षण गर्न सरकारसँग माग गरेका छन्।
सांसदहरूले शव फेला नपरेका परिवारलाई मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति, बैंकिङ तथा अंशबन्डालगायत कानुनी प्रक्रिया अघि बढाउन सहज व्यवस्था गर्नुपर्ने बताएका छन्। रास्वपाका ठाकुरसिंह थारूले कानुनी जटिलताका कारण पीडित परिवार थप समस्यामा परेको भन्दै सम्बन्धित कानुन संशोधन गर्न माग गरे।
विश्वराज पोखरेलले बेपत्ता तथा सनाखत हुन नसकेका शवको डीएनए परीक्षण गरी पहिचानसहित अन्तिम संस्कारको व्यवस्था गर्न आग्रह गरे। कृष्णहरि बुढाथोकीले मृत्यु दर्ता, बीमा र बैंकिङ प्रक्रिया सहज बनाउन माग गरे।
अन्य सांसदहरूले पनि बाढीपीडितको खोजी तथा उद्धार, जोखिमयुक्त बस्ती स्थानान्तरण, पूर्वसूचना प्रणाली, चाडपर्वमा महँगी तथा कालोबजारी नियन्त्रण र ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए। जलवायुजन्य विपद्बाट भएको क्षतिको क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने मागसमेत उठेको छ।














