जनकपुर, २६ माघ । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीप कुमार यादवको निधन भएको छ।
मस्तिष्कघात भएपछि उपचाररत रहेका मेयर यादवको काठमाडौंस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा सोमबार निधन भएको हो।
प्राप्त जानकारी अनुसार, गत बिहीबार राति अचानक मस्तिष्कघात भएपछि उनलाई तत्कालै जनकपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। तर, चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित मेयर यादव स्थानीय तहको विकास, पूर्वाधार निर्माण तथा जनसेवाका कार्यक्रमहरूमा सक्रिय रूपमा लाग्दै आएका थिए।
उनको आकस्मिक निधनले हंसपुर नगरपालिका मात्र होइन, समग्र धनुषा जिल्लामा शोकको वातावरण छाएको छ।
उनको निधनको खबर फैलिनासाथ स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।
नगरपालिकाले मेयर यादवको योगदानको स्मरण गर्दै शोकसभा आयोजना गर्ने तयारी गरेको जनाएको छ।














