काठमाडौं, २१ पुस । निर्वाचन आयोगले डिजिटल प्लेटफर्महरूलाई निर्वाचन आचारसंहिता कार्यान्वयनको प्रमुख चुनौती ठहर गरेको छ ।
सोमबार आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र अन्य पदाधिकारी उपस्थित थिए ।
बैठकमा आचारसंहिता कार्यान्वयनमा प्रविधि दुरुपयोग रोक्न, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट फैलिने मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न प्रभावकारी संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
आयोगले राजनीतिक दल र नियामक निकायसँग सहकार्य गरी आचारसंहिता पालनालाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ ।
निर्वाचन आयुक्त सगुन शम्शेर जबराले विगतका कमजोरी सुधारेर यस पटक गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे ।














