जनकपुर, ६ पुस । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका–खजुरीमा नेपाल सरकारको पहलमा निर्माण सुरु गरिएको रेल्वे म्युजियम जग्गा स्वामित्व र पहुँच मार्ग (बाटो) सम्बन्धी विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ।
ऐतिहासिक महत्व बोकेको यो परियोजना अधुरै रहँदा स्थानीयवासी, सरोकारवाला तथा इतिहासप्रेमीहरूमा निराशा र असन्तोष बढ्दै गएको छ ।
नेपालको रेल्वे इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले खजुरीमा रेल्वे म्युजियम निर्माण गर्ने योजना अघि बढाइएको थियो ।
प्रारम्भिक चरणमा म्युजियम भवनका केही संरचना निर्माण हुनुका साथै पुराना रेल इन्जिन, रेलका पार्टपुर्जा तथा ऐतिहासिक सामग्रीहरू समेत स्थलमा ल्याइएका थिए। तर, प्रयोग गरिएको जग्गाको स्वामित्व स्पष्ट नहुनु र म्युजियमसम्म पुग्ने पहुँच मार्गबारे विवाद उत्पन्न भएपछि निर्माण कार्य रोकिएको हो ।
स्थानीय तह र सरोकारवालाको प्रतिक्रिया
जनकनन्दिनी गाउँपालिकाका एक जनप्रतिनिधि मनोज कुमार साहका अनुसार रेल्वे म्युजियम खजुरी र सम्पूर्ण मधेस प्रदेशकै लागि ऐतिहासिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण परियोजना हो।
“जग्गा र बाटोको विषयमा कानुनी तथा प्राविधिक स्पष्टता नआउँदा निर्माण कार्य अघि बढाउन समस्या आएको छ । यस विषयमा प्रदेश र संघीय निकायसँग समन्वय भइरहेको छ,” उनले बताए ।
तर, स्थानीयवासीहरू भने सरकारको ढिलासुस्ती र उदासीनताप्रति आक्रोशित देखिन्छन् । स्थानीय बासिन्दा मनोज कुमार साह भन्छन्, “यदि समयमै विवाद समाधान गरिएको भए आज खजुरी पर्यटकीय गन्तव्यका रूपमा परिचित भइसक्थ्यो ।
अहिले त निर्माण गरिएका संरचना बिग्रँदै गएका छन् र ऐतिहासिक सम्पदा जोखिममा परेको छ ।
संरक्षणको अभावमा जीर्ण बन्दै संरचना
लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका म्युजियमका संरचनाहरू, पुराना रेल इन्जिन र सामग्रीहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। वर्षा, घाम र खुला वातावरणका कारण ती सामग्रीहरूमा क्षति पुगिरहेको सरोकारवालाहरू बताउँछन्।
समयमै संरक्षण र व्यवस्थापन नहुने हो भने ती ऐतिहासिक सामग्रीहरू पूर्ण रूपमा नष्ट हुने खतरा रहेको उनीहरूको चिन्ता छ । रेल्वे म्युजियम सञ्चालनमा आएको खण्डमा जनकपुर–जयनगर रेलमार्गसँग जोडिएको नेपालको रेल्वे इतिहास उजागर हुनुका साथै स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको थियो ।
सरकारसँग स्थानीयको माग
स्थानीयवासी, बुद्धिजीवी तथा सरोकारवालाहरूले जग्गा र बाटोको विवाद तत्काल समाधान गरी म्युजियम निर्माण कार्य पुनः सुरु गर्न सरकारसँग माग गरेका छन् ।














