काठमाडौं, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको आन्दोलनमा निहीत स्वार्थ बोकेका अराजक समूहको प्रवेशका कारण शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेको बताएका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले युवा–विद्यार्थीहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा भड्काइएको दाबी गरे ।
उनले त्यस क्रममा उत्पन्न परिस्थितिलाई “दुःखद् र अकल्पनीय” भन्दै त्यसबाट देशले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरे । ओलीका अनुसार सरकारले सामाजिक सञ्जाल बन्द गर्ने होइन, नियमन मात्र गर्ने उद्देश्य राखेको थियो। यही विषयमा युवाहरूले संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले संसद् भवनमा भएको तोडफोड, आगजनी तथा निषेधित क्षेत्र तोड्ने कार्य युवाहरूको नाममा भए पनि त्यसको पछाडि निहीत स्वार्थ बोकेका तत्वहरू रहेको दाबी गरे ।
पूर्व प्रधानमन्त्री ओलीले उक्त घटनाका कारण निर्दोष युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसलाई राष्ट्रका लागि पीडादायी क्षणका रूपमा स्मरण गरे। भदौ २३ र २४ गते भएका घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।














