काठमाडौँ, २६ मंसिर । नेकपा एमालेले आगामी ११औँ महाधिवेशनको तयारी तीव्र बनाउँदै आज दिउँसो सचिवालय बैठक बस्न लागेको छ ।
च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजेबाट सुरू हुने बैठकलाई संगठनभित्रको आगामी संरचना, नेतृत्व व्यवस्थापन तथा महाधिवेशन रूपरेखासँग प्रत्यक्ष जोडिएको ‘महत्वपूर्ण निर्णायक’ बैठकका रूपमा हेरिएको छ ।
बैठकमा प्रतिनिधि मनोनयन, महाधिवेशन सञ्चालन मोडालिटी, कार्यविधि, थप कार्यक्रमहरू तथा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रमुख एजेन्डाका रूपमा रहने एमाले नेतृत्वले जनाएको छ ।
यसले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा संगठनात्मक प्रतिवेदन तयार गर्ने अन्तिम प्रक्रिया पूर्णता पाउनेछ । सचिवालयमा पेस हुन लागेको मुख्य विषयमध्ये केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या वृद्धि प्रस्ताव प्रमुख मानिएको छ ।














