काठमाडौं, २५ मंसिर । भिजिट भिसा प्रकरणमा अवैध असुली धन्दा सञ्चालन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख तथा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नियमित निगरानीपछि २०८१ चैत ७ गते भट्टराईलाई पक्राउ गरेको थियो । उनी विभिन्न म्यानपावर तथा मानव तस्करी समूहसँग मिलेर भिजिट भिसामा विदेश जान उत्तारिन्दा सेवाग्राहीसँग रकम असुलिरहेको आरोप छ ।
यस प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, कर्मचारी प्रशासन प्रमुख छवि रिजाललगायतको भूमिकामाथि समेत प्रश्न उठेको थियो ।
लेखक गृहमन्त्री बनेपछि असुलीधन्दालाई संरक्षण भएको आरोपपछि मुद्दा सतहमा आएको हो । अख्तियारको निगरानीमा अध्यागमनमा घुस बाँडफाँडका लागि छुट्टै समिति र हिसाब राख्ने सफ्टवेयरसमेत सञ्चालनमा रहेको भेटिएको थियो ।
सहसचिव भट्टराई यसअघि भूकम्पपीडितलाई वितरण हुने त्रिपाल खरिद प्रकरणमा पनि मुद्दा खेपेका थिए, तर विशेष अदालतले सफाइ दिएपछि उनी पुनः सेवामा फर्किएका थिए ।














