काठमाडौं, २४ मंसिर । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्ता जेन–जीले मानव अधिकारलाई व्यवहारिक रुपमा मूल्यांकन गर्ने गरेको प्रशंसा गरिन् ।
उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत युवाहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सशक्त रूप भएको उल्लेख गर्दै सरकार डिजिटल अधिकार, गोपनीयता, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माणमा समाहित गर्न प्रतिबद्ध रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारलाई मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भन्दै, भ्रष्टाचारले नागरिकलाई उपचार, शिक्षा र अवसरमा पहुँचबाट वञ्चित गराउने गम्भीर मानव अधिकार उल्लंघन भएको स्पष्ट पारिन् ।
उनले सरकार पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउँदै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न तयार रहेको दोहोराइन् ।














