काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा फेरि एकपटक डडेल्धुराबाटै उम्मेदवारी दिने संकेत गरेका छन् ।
भेट्न आउने नेताहरूसँग उनले यो चुनाव आफ्ना लागि ‘अन्तिम प्रतिस्पर्धा’ हुने स्पष्ट पारेका हुन् । डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेका छन्, र त्यसअनुसार पार्टीले सर्वसम्मत सिफारिस अघि बढाउने तयारी छ ।
गत सातादेखि देउवालाई भेट्न पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले आफू चुनाव लड्न तयार रहेकामा पुष्टि गरेको बताए। ‘साथीहरूकै आग्रह छ, म उठ्छु भन्नुभयो,’ ती नेताले सुनाए । देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाटै प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका छन् ।














