जनकपुर, मंसिर २० । नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र यादवले काँग्रेस र एमालेको अकर्मण्यता, भ्रष्टाचार र वेथितिकै कारण ‘जेनजी विद्रोह’ भएको दाबी गरेका छन्।
जनकपुरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले युवापुस्ता आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संकटका बेला हेलिकप्टरबाट भाग्नुपरेको आरोप लगाउँदै विषम परिस्थितिमा प्रचण्ड र माधव नेपाल मात्र जनताको बीचमा रहेको दाबी गरे।
यादवले जेनजी आन्दोलनले मुलुकलाई ठूलो आर्थिक क्षति पुर्याएको भन्दै घटनाको छानबिनको माग गरे। साथै मुलुकको अग्रगामी निकासका लागि नेपाली कम्युनिष्ट पार्टी नै विकल्प रहेको र समाजवाद तथा समानताका लागि सबै एकजुट हुनुपर्ने आह्वान गरे।
काँग्रेस र केही कम्युनिष्ट शक्तिले संघीयता समाप्त गर्ने खेल खेलिरहेको आरोप पनि उनले लगाए।














