जनकपुर, २० मंसिर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार बिहान ११ बजे पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता घोषणा कार्यक्रमका कारण शपथ आज नभई भोलि सारिएको हो । कांग्रेसका यादव सात दलीय गठबन्धन कांग्रेस, जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति—का ७७ सांसदको समर्थनमा धारा १६८(२) अनुसार मुख्यमन्त्री बनेका हुन् ।
भोलि ६ दलबाट एक–एक मन्त्री नियुक्त गर्ने तर मन्त्रालय भागबण्डा पछि गर्ने प्रारम्भिक सहमति भएको छ । प्रदेशमा एमालेलाई अनुकूल निर्णय गरेको आरोप लागेपछि अघिल्लो मुख्यमन्त्री सरोज यादव, प्रदेश प्रमुख तथा सभामुख सबै पदमुक्त भइसकेका छन् ।
अहिले सभामुख रिक्त छ र नयाँ सभामुख चयनबारे सत्ता गठबन्धनभित्र प्रारम्भिक छलफल भइरहेको छ ।














