काठमाडौँ, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण (हाबियस कार्पस) निवेदन सर्वोच्च अदालतमा पेसीमा चढेका छन् ।
सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा उक्त निवेदनको सुनुवाइका लागि मिति तोकिएको अदालतले बताए । प्रसाईंमाथि सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आन्दोलनको घोषणा गर्दै उत्तेजनात्मक अभिव्यक्ति जारी गरेको तथा त्यसले हिंसा फैलने आशंका बढेपछि उनलाई मंसिर १ गते भक्तपुरको ठिमीस्थित घरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने दाबी गर्दै यातायातदेखि विभिन्न क्षेत्र पूर्ण रूपमा बन्द गराउने चेतावनी दिएका थिए ।
त्यसै क्रममा उनले देशको प्रतिष्ठासँग सम्बन्धित एनपीएल रोक्न क्यानका अधिकारीहरूलाई समेत चेतावनी दिएको भिडियो सार्वजनिक भएपछि विवाद थपिएको थियो ।














