काठमाडौं, १७ कात्तिक । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय महिला विश्वकप क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।
आइतबार मुम्बईमा सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलोपटक विश्वकप उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रनको प्रतिस्पर्धी योगफल बनायो ।
ओपनर शफाली वर्माले ८७ रनको उत्कृष्ट पारी खेलिन् भने दीप्ति शर्माले ५८ र स्मृति मन्धानाले ४५ रनको योगदान दिइन् । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोली ४५.३ ओभरमै २४५ रनमा अलआउट भयो ।
कप्तान लाउरा वुल्भार्डले ९८ बलमा १०१ रनको शतकीय पारी खेलेकी थिइन्, तर अरू ब्याटरहरूबाट साथ नपाउँदा टोली लक्ष्यसम्म पुग्न असफल भयो । एनरी डर्कसनले ३५ रन जोडिन् । भारतका बलर दीप्ति शर्माले घातक प्रदर्शन गर्दै ५ विकेट हात पारिन्।
शफाली वर्माले २ विकेट र श्री चरनीले १ विकेट लिइन् । दक्षिण अफ्रिकाका लागि आयाबोङ्गा खाकाले ३ विकेट लिइन् भने नोकुलेलो मलाबा, नदीन डे क्लर्क, र क्लोए टायरनले समान १–१ विकेट लिए ।
भारतले यसअघि दुईपटक फाइनल खेल्दा पनि उपाधि जित्न सकेको थिएन । दक्षिण अफ्रिकाले भने पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको थियो ।
महिला विश्वकपको इतिहासमा अस्ट्रेलियाले सबैभन्दा धेरै — ७ पटक — उपाधि जितेको छ । भारतले यसपटक सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।














