जनकपुर, २२ असोज । जनकपुरस्थित स्वस्तिका हेल्थ केयर हस्पिटलले उपचार गर्न गाह्रो मानिने जटिल प्रकारको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
धनुषाको नगराईन नगरपालिका–६, लग्माका राजगिर पासवान गत असोज ८ गते छतबाट खस्दा कमर र तिघ्राबीचको भाग (पेल्भिस) मा गम्भीर चोट लागेर हाड भाँचिएको थियो ।
परिवारले उनलाई तत्काल जनकपुरकै एक अस्पतालमा पु¥याए पनि उक्त अस्पतालले यस्तो जटिल उपचार सम्भव नरहेको भन्दै उनलाई काठमाडौं वा अन्यत्र रिफर ग¥यो ।
तर घाइतेका ज्वाइँ मुकेश पासवानले जनकपुरमै उपचार गर्न सकिने विकल्प खोज्दै स्वस्तिका हेल्थ केयर अस्पताल (जिरो माइल) मा सम्पर्क गरे ।
उनले अस्पतालमा कार्यरत हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.मनोज प्रसाद गुप्तासँग भेट गरी बिरामीको अवस्थाबारे सम्पूर्ण जानकारी गराए ।
डा. गुप्ताले आवश्यक परीक्षण र मूल्यांकन गरेपछि शल्यक्रिया गर्ने निर्णय गरे । उनले जनकपुरमै पहिलो पटक यस्तो प्रकारको जटिल पेल्भिस शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।
“पेल्भिस फ्याक्चर भएका बिरामीहरू विरलै आउने गर्छन्, र यस्ता केसहरूमा उपचारको लागि बिरामीहरूलाई काठमाडौं वा अन्य सहर लैजानुपर्ने बाध्यता रहँदै आएको छ,” डा. गुप्ताले भने, “तर हामीले स्वस्तिका हेल्थ केयरमै यस्तो उपचार सुरु गरेका छौं ।
यो जनकपुरको लागि एक महत्वपूर्ण उपलब्धि हो ।” हाल राजगिर पासवानको स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधार आएको छ । उनी अहिले हिँडडुल गर्न सक्ने अवस्थामा छन् ।














