काठमाडौं, २२ असोज । इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआमाथि भएको हत्या प्रयास प्रकरणमा पाँचजना व्यक्तिलाई पक्राउ गरिएको छ ।
ऊर्जामन्त्री इनेस मान्जानोका अनुसार, पूर्वाधार परियोजनाको उद्घाटनका लागि काना प्रा प्रान्ततर्फ जाँदै गर्दा राष्ट्रपतिको कारकेडमाथि करिब ५०० जनाको भीडले ढुंगामुढा गरेको थियो । सो क्रममा राष्ट्रपतिको सवारीमा गोली लागेको संकेत भेटिएको भए पनि राष्ट्रपति नोबोआ सुरक्षित रहेको बताएको छ ।
आक्रमणका क्रममा केही सवारी साधनका झ्याल फुटेका थिए । अधिकारीहरूले पक्राउ परेकामाथि आतङ्कवाद र राष्ट्रपति हत्या प्रयासको मुद्दा दायर गर्ने तयारी गरेका छन् । मन्त्री मान्जानोले राष्ट्रपतिको सुरक्षामाथि गोली चलाउनु र सरकारी सम्पत्तिमा क्षति पु¥याउनु गम्भीर आपराधिक गतिविधि भएको बताइन् ।
इक्वेडरमा हालै सरकारले डिजेलमा दिइँदै आएको अनुदान हटाउने निर्णय गरेपछि देशभर प्रदर्शन चर्किएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच अनेकौं ठाँउमा झडप भइरहेका छन् । यसअघि पनि गत सेप्टेम्बर महिनामा राष्ट्रपति नोबोआको कारकेडमाथि आक्रमण भएको थियो ।














