काठमाडौँ, १२ असोज । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले ठूलो मात्रामा गोली र अश्रुग्याँस प्रयोग गरेको आन्तरिक प्रतिवेदनमा खुलासा भएका छन् ।
अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार पारेको विवरण प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई बुझाएको छ । त्यसअनुसार आन्दोलन शमनका क्रममा ४ हजार जङ्गी राउन्ड तथा २५ सयभन्दा बढी रबर बुलेट प्रहार गरिएको पाइएको छ ।
त्यस्तै, भीड नियन्त्रण गर्न २५ सयभन्दा बढी ब्ल्यांक राउन्ड फायर गरिएको उल्लेख छ । ब्ल्यांक राउन्डमा आवाज मात्रै निस्कने भए पनि परिस्थितिलाई दबाउन त्यसको प्रयोग गरिएको हो । अश्रुग्याँस प्रयोगतर्फ हेर्दा, देशभर ८ हजार सेलभन्दा बढी प्रयोग गरिएको प्रतिवेदनले देखाएको छ । काठमाडौँ उपत्यकामा मात्रै करिब ४ हजार सेल प्रहार भएको उल्लेख छ ।
उपत्यकामा बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा अश्रुग्याँस प्रयोग गरिएको हो ।
प्रहरी प्रधान कार्यालय सुरक्षाका लागि मात्रै करिब १३ सय राउन्ड अश्रुग्याँस प्रयोग गरिएको प्रतिवेदनमा छ भने, मधेस प्रदेशमा करिब ६ सय सेल प्रयोग गरिएको विवरण प्रस्तुत गरिएको छ ।














