रौतहट, ११ भदौ । केही दिनअघि सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या अभियुक्त लक्ष्मण पासवान जलेको अवस्थामा फेला परेका छन् ।
उनलाई रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुर नजिकैको बगैंचातर्फको बाटोमा स्थानीयले जलेको अवस्थामा देखेका थिए । प्रहरीका अनुसार, पासवानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।
सूचना पाएपछि प्रहरी टोली बिहान करिब साढे ६ बजे घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार, पासवान गम्भीर रुपमा घाइते अवस्थामा थिए र तत्कालै उनलाई उपचारका लागि गरुडा स्थित एक अस्पतालमा पुर्याइएको छ ।
हाल उनी प्रहरीको निगरानीमा उपचाररत छन् । रुबी साह गत शनिबार गौर बजार जान डेराबाट निस्किएकी थिइन् । तर केही समयपछि उनको शव सुटकेसभित्र प्याक गरिएको अवस्थामा फेला परेको थियो ।
यस घटनाले जिल्ला भरि सनसनी फैलिएको छ । प्रारम्भिक अनुसन्धानले देखाउँछ कि लक्ष्मण पासवान नै हत्यामा संलग्न थिए ।















