काठमाडौं, ७ भदौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले भूमि सम्बन्धी विधेयकलाई पारित गराउन गौर हत्याकाण्डजस्तो गम्भीर मुद्दालाई “राजनीतिक हतियार“को रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै जसपाका प्रवक्ता मनिष सुमनले सरकारको मनसाय प्रति प्रश्न उठाउँदै भने, “राज्यले गौर हत्याकाण्डको तरबार किन चलाइरहेको छ? अहिले भूमिसम्बन्धी विधेयक कृषि समितिबाट बहुमतका आधारमा पारित भई संसद्मा पठाइएको छ ।
तर, प्रधानमन्त्रीकै विशेष इच्छा र दबाबमा यसलाई फास्ट ट्र्याकमा जबरजस्ती पारित गर्ने प्रयास भइरहेको छ । उनका अनुसार भूमि विधेयकमा गम्भीर त्रुटिहरू छन् र यसले देशभरको कृषियोग्य जमिनलाई संकटमा पार्ने खतरा रहेको छ ।
“यो विधेयकले सिङ्गो देशलाई मरुभूमि बनाउने खतरा छ,” उनले चेतावनी दिए । सुमनले गौर हत्याकाण्डबारे सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै भने, “राज्यले यसअघि नै गठित आयोगका रिपोर्टहरू लुकाउँदै आएको थियो ।
अब अदालतबाट आदेश गराएर त्यसलाई ब्युँताउने नाममा सरकार बदला लिने रणनीतिमा उत्रिएको छ । उनले उपेन्द्र यादवमाथि राजनीतिक प्रतिशोधसहित मुद्दा अघि बढाइएको भन्दै विरोध जनाए ।
“यादवले अन्यायको विरोध गरे, सरकारको गलत कामलाई चुनौती दिए । त्यसको प्रतिक्रिया स्वरूप गौर घटनालाई कानुनी जामा पहिर्याएर ब्युँताउने प्रयास गरिएको हो,” सुमनले भने ।
उक्त साक्षात्कार कार्यक्रममा भूमि विधेयक पारित गर्ने प्रक्रियामा देखिएको “दोहोरो मापदण्ड“को पनि उनले आलोचना गरे ।














