जनकपुर, ६ भादौ। संयुक्त एम्बुलेन्स चालक संघ, नेपालका केन्द्रीय सदस्य सुजित कुमार पुर्वे र जिल्ला शाखा धनुषाका अध्यक्ष राजेश यादवको नेतृत्वमा शनिबार धनुषा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा संघका प्रतिनिधिहरूले जिल्लाभित्र एम्बुलेन्स सेवामा देखिएका समस्या, चालकहरूको अधिकार–सुरक्षा, यातायातमा हुने असुविधा तथा सरकारले ध्यान दिनुपर्ने बिषयहरूबारे प्रमुख जिल्ला अधिकारीसमक्ष माग र सुझावहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा एम्बुलेन्स चालकहरूले आपत्कालीन स्वास्थ्य सेवामा अहोरात्र खटिए पनि उचित सुरक्षाको ग्यारेन्टी नपाएको, इन्धन मूल्यवृद्धि, मर्मतसम्भार खर्च, र बिरामी बोक्दा हुने जोखिमलाई सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।
प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र ग्रहण गर्दै उठाइएका मागबारे सम्बन्धित निकायसँग छलफल गर्ने आश्वासन दिएका छन्। साथै उनले चालकहरूको योगदान महत्वपूर्ण रहेको भन्दै यसप्रति सरकार गम्भीर हुने बताउनुभयो।














