जनकपुर, ६ भादौ। पूर्व उपप्रधानमन्त्री तथा सांसद रघुविर महासेठको पहल र योजनाअनुसार ढल्केवर–जनकपुर सडक खण्डमा विद्युतिकरण कार्य सम्पन्न गरिएको छ।
सडकलाई आधुनिक र सुरक्षित बनाउन विद्युत बत्ती जडान गरी उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, जनकपुर उपमहानगरपालिका प्रमुख सुखदेव यादव, नेता जुली महतो, युवा नेता दीपेन्द्र ठाकुर, सडक डिभिजन प्रमुखसहित स्थानीय जनसमुदाय र दर्जनौं अगुवा कार्यकर्ताको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री महासेठले करकमलबाट बत्ती बालेर औपचारिक उद्घाटन गरेपछि सडक खण्ड उज्यालोमय बनेको छ।
स्थानीयवासीहरूले यस कार्यलाई ऐतिहासिक कदमका रूपमा स्वागत गर्दै सडकमा हुने दुर्घटना नियन्त्रण, रात्री यात्रा सहज र जनकपुरको सौन्दर्य अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
यस अवसरमा वक्ताहरूले विकास निर्माणमा स्थानीयको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सडकको दीगो व्यवस्थापन र मर्मतसम्भारमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए।














