कठमाडौं, ४ भादौं । सहकारी ठगी मुद्दामा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ जाने भएका छन् ।
प्रचण्ड बुधबार साँझ ६ बजे लामिछानेलाई भेट्न नक्खु पुग्ने उनको सचिवालयले जानकारी दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत शनिबार ललितपुरको नक्खु कारागार सारिएको थियो ।
यहाँ सारेसँगै पार्टीका नेता कार्यकर्ता, आफन्त र शुभेच्छुकसँग लामिछानेले भेटघाट बढाएका छन् । आफू सत्ताबाट बाहिरिने अन्तिम क्षणसम्म साथ दिएका लामिछाने सहकारी ठगीमा निर्दोष रहेको प्रचण्डले सार्वजनिक रुपमै बताउँदै आएका छन् ।
वर्तमान सत्ता गठबन्धनले लामिछानेसँग प्रतिशोध साँधेको र उनलाई फसाइएको भन्दै प्रचण्डले आपत्ति जनाउँदै आइरहेका छन् । लामिछानेविरुद्ध ५ वटा सहकारी ठगेको अभियोग छ ।














