काठमाडौं, ४ भदौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डप्रति प्रतिक्रिया जनाउँदै नेपालमा थुप्रै गम्भीर घटनाहरू अझैसम्म रहस्यकै घेरामा रहेको बताएका छन् ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको घटनाबारे सर्वोच्च अदालतले हालै मात्र मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ ।
सो घटनामा आफूविरुद्ध पनि मुद्दा चल्ने चर्चा भइरहेका बेला यादवले पत्रकारहरूसँग प्रतिक्रिया दिंदै “दरबार हत्याकाण्ड र दासढुंगा हत्याकाण्डको वास्तविकता अझै खुलेको छैन” भन्दै राजनीतिक प्रेरणाले प्रेरित मुद्दाहरूको निन्दा गरे ।
उनले भने, नेपालमा धेरैजसो घटनाहरू रहस्यमय तरिकाले भएका छन् । दरबार हत्याकाण्ड, दासढुंगा हत्याकाण्डको कसैले जवाफ दिएको छैन । यस्तो संवेदनशील विषयमा अनुमानका भरमा आरोप लगाउनु उचित हुँदैन ।
यादवले गौर घटनामा आफू निर्दोष रहेको दाबी गर्दै भने, “सो घटनामा मेरो कुनै संलग्नता छैन । चारवटा स्वतन्त्र संस्थाहरू—मानव अधिकार आयोग, संयुक्त राष्ट्रसंघीय संस्था (OHCHR) र अन्य न्यायिक संयन्त्रहरूले समेत अनुसन्धान गरिसकेका छन् र प्रतिवेदनसमेत सार्वजनिक भइसकेका छन् ।
उनको भनाइमा, “माथिको अनुसन्धानले मलाई निर्दोष सावित गरिसकेको छ । अहिले आएर राजनीतिक फाइदाका लागि मुद्दा पुनः खोल्नु उचित छैन ।
गौर घटनालाई लिएर देशमा पुनः राजनीतिक ध्रुवीकरण बढ्ने आशंका भइरहेका बेला यादवको यस्तो अभिव्यक्ति आएको हो ।














