जनकपुर, २ भादौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान हुने गरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान सुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको छ ।
जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरको रामानन्द चोकमा प्रदर्शन गरेको छ ।
मधेस आन्दोलनका उपलब्धिहरूलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश आएको भन्दै जसपा नेपालका नेता कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतले मधेश आन्दोलनका उपलब्धिलाई तेजोबोध गर्ने उद्देश्यले यस प्रकारको परमादेश दिएकाले आन्दोलित हुनु परेको जसपा नेपाल मधेसका अध्यक्ष बालकिशोर यादवले बताए ।
उनले नेपालको अदालत पक्षपाती भएको आरोप लगाए । यस प्रकारको परमादेशले मधेसमा फेरि आन्दोलन उठ्ने चेतावनी दिए । सर्वोच्च अदालतले १८ वर्ष अगाडि भएको गौर हत्याकाण्डको अनुसन्धान अगाडि बढाउन परमादेश दिएको थियो ।
त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यो परमादेश गरेको हो ।














