जसपा नेता जितेन्द्र यादबको समाजिक संजालवाट
जनकपुरधाम, १ माघ । आजको परिवेशमा विश्व एक आपसमा आन्तरनिर्भर देश हो । भूमण्डलीकरणको कारणले सबै क्षेत्रमा प्रभाव परिरहेको छ ।
यस्तो अवस्थामा हामीले सबै किसिमका उद्योग धन्दाहरू नभई तुलनात्मक लाभका उद्योगहरू स्थापना गरी देशभित्र र बिदेशका बजारहरूमा पहुँच राख्न सक्नु पर्ने अबस्था छ ।
नेपालमा त्यस्ता तुलनात्मक लाभका उद्योगहरू भनेको आफ्नै जल, जमिन,जङ्गल र जडीबुटीमा आधारित उद्योगहरू नै हुन । त्यस बाहेक सूचना प्रविधीको क्षेत्रमा सूक्ष्म ढङ्गले काम गर्ने तथा विश्व बजारमा आवश्यक बिभिन्न क्षेत्रका यन्त्रहरू निर्माण गरी निर्यात गर्ने वातावरण सृजना गर्नु पर्दछ ।
लगानीको उत्पादन बृद्धि हुनसक्ने कृषिजन्य उद्योग, जलश्रोत र पर्यटनको विकास, पूर्वाधारमा लगानी तथा ग्रामीण उद्यमशीलता र बजारको प्रबर्द्धनमा बिशेष ध्यान दिनु पर्दछ ।
त्यसका लागि सरकारले आर्थिक, वित्तीय तथा मौद्रिक नीतिलाई समन्वयात्मक रूपमा अगाडी बढाउनुका साथै देशको बजेट प्रणालीलाई पनि पुनर्सरचना गर्नु पर्दछ ।
श्रृजनशील बौद्धिक सम्पत्ति लाई प्राथमिकतामा राख्दै विश्वविद्यालय र क्याम्पसहरूलाई सुव्यवस्थित गर्दै शैक्षिक गुणस्तर सुधार गरि बौद्धिक उद्योग स्थापित गर्नु पर्दछ ।
युवा जनशक्तिलाई देशमै काम गर्ने वातावरणको सृजना गर्न उत्पादनमुखी अर्थतन्त्र निर्माण तथा आपूर्ति व्यवस्थापनमा सुधार गर्ने, राष्ट्रिय उत्पादनमा वृद्धि,शिक्षा,स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रलाई विशेष ध्यान दिदै गुणस्तरीय सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिए मात्र मुलुक आत्मनिर्भर हुन सक्छ ।
त्यसका लागि सबैपक्ष ईमान्दार रहँदै समाजमा विद्यमान वर्गीय,जातीय,क्षेत्रीय,लैङ्गिक,भाषिक सांस्कृतिक,धार्मिक आदि सबै प्रकारका विभेदहरूको अन्त्य गर्नु अहिलेको आवश्यक छ ।
विश्व नयाँ औद्योगिक क्रान्ति युगमा प्रवेश गरि सकेको कारणले जलवायु परिवर्तन तथा पर्यावरणमा व्यापक परिवर्तन आएको छ । जसका कारण ग्लोबल वार्मिङ्गको चपेटामा मुलुक छ ।
एकातिर नवअन्वेषित प्रविधिका कारण श्रमको स्वरूप,श्रम सम्बन्ध र शोषणका स्वरूप अकल्पनीय परिवर्तन ल्याएको छ भने अर्कोतिर पूँजीवाद र समाजवाद बीच प्रविधिको प्रयोगमा होडबाजी चल्न थालेको अवस्थाले गर्दा पूँजीवादी मुलुकहरूकै बिच संघर्ष भइरहेका कारण पर्यावरणीय सन्तुलनमा असर पुगेको छ ।
जसका कारण देश संकटमा छ । त्यस जोखिमलाई न्यूनीकरणका लागि पर्यावरणीय सन्तुलन कायम गर्न पहल गर्ने,राष्ट्रिय हितको रक्षा र स्वतन्त्र एवं सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न एकचोटीका लागि सबै राजनीतिक दल एकीकृत भई देशलाई संकटबाट बचाउनु आजको आवश्यकता छ ।
अन्यथा मुलुक दिनप्रतिदिन संकटको दिशातिर उन्मुख हुँदै जाने परिस्थिति श्रृजना हुन सक्छ । यदी नेपाल आत्मनिर्भर हुन नसके हामी नेपाली रह्न सक्ने कि नसक्ने गम्भीर चिन्ताको विषय बनेको छ ।
त्यसकारण हामी मुलुक र जनता प्रति उत्तरदायी राजनीतिक दल र दलका नेता एक होऔं र देशलाई आत्मनिर्भर बनाउने ईच्छाशक्ति छ भने सबै पक्ष मिलेर अगाडी बढौं ।














