जनकपुरधाम, १ माघ । आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । विशेषगरी माघे संक्रान्तिलाई मधेशी समुदायहरु आजको दिनलाई तिलासकराइतको रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघी पर्वको मनाउँछन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । मधेशका मैथिली लगायत मधेशी समुदायले आजको दिनमा तील, च्युरा, मुरही लगायतको परिकारलाई सक्खर मिलाएर लड्डु (लाइ) बनाउने गर्दछन् ।
नुहाएर तिलचामल चढाएर खानुको साथै लाइ घ्यु, खिचडी खाने चलन छ । आफ्ना छोरीको घरमा ती परिकारहरु कोसेलीको रुपमा पठाउने चलन समेत मिथिलाञ्चलमा रहेको छ ।
पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गर्छन् ।