काठमाडौं, २८ पुस । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुनमा हुने भएको छ ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले आगामी फागुनमा विधान अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।
सापकोटाका अनुसार फागुन १,२ र ३ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय भएको छ । शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए ।
प्रदेश इन्चार्जहरूको रिपोर्ट सुनेपछि अध्यक्ष प्रचण्डले त्यसको संश्लेषण समेत सुनाएको प्रवक्ता सापकोटाले बताए । बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।
स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिएका थिए ।