जनकपुरधाम, २८ मंसिर । धनुषाको सबैला नगरपालिका-९ कुसमाहामा ५ वर्षीया बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अवस्थामा लाश फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ५ वर्षीया रेखा यादवलाई जबरजस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति ८ बजे शव फेला परेको छ ।
बुधबार राति करिव ९ बजे गाउँकै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।
बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति ८ बजे सबैला नगरपालिका-९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको थियो ।
घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई जबरजस्ती करणीपश्चात् घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुबैजनाको नाम प्रहरीले गोप्य राखेपनि उनीहरू दुबैजना ३६ र २५ वर्षको स्थानीय युवक रहेको छ ।
उनीहरूमाथि जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।