जनकपुरधाम, २ मंसिर । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।
आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् ।
खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ । सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजै देखि नहाय खाय विधिबाट सुरु भएको छ ।
पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् । तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ ।
आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ ।
सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ ।