जनकपुरधाम, ११ कार्तिक । आज राती खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहण राति २ः३८ मिनेटमा समाप्त हुने छन ।
ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिन’शभएको छ ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासअनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो ।
पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ,
जसलाई चन्द्रग्रहण भनिन्छ । सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ ।
चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ ।