काठमाडौँ, ३ मंसिर । ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनमसँगै महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएको हो।
ईनमसँगको सम्बन्ध खुलेपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्।
प्रहरीले ईनममाथि राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ। अन्य दुई जनामाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध जोडिएको विषय सार्वजनिक भएपछि ईनमलाई प्रहरीले यसअघि पक्राउ गरेको थियो।














