जनकपुर, ३ मंसिर । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले जनकपुरधाममा आयोजना हुन लागेको विवाहपञ्चमी महोत्सवका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन्।
जानकी मन्दिरमा पूजाआजा गर्न पुगेका मन्त्री लम्सालले मन्दिरका छोटा महन्थसँग भेट गरी आशीर्वाद लिने क्रममा विवाहपञ्चमी महोत्सवको तयारीबारे चासो व्यक्त गरेका थिए।
सो अवसरमा उनले महोत्सव सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार, व्यवस्थापन तथा अन्य सहयोगका विषयमा विस्तृत लागत अनुमान (स्टिमेट) तयार गरी सरकारसमक्ष पेस गर्न आग्रह गरे। आवश्यक प्रस्ताव र लागत विवरण प्राप्त भएपछि सरकारले सहयोगका लागि पहल गर्ने उनको भनाइ थियो।
मन्त्री लम्सालले विवाहपञ्चमी जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको व्यवस्थापनमा आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
यस वर्ष विवाहपञ्चमी महोत्सव मंसिर २८ गते आयोजना हुँदैछ। त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा भव्य रूपमा मनाइने यस महोत्सवमा नेपाल तथा भारतका हजारौँ श्रद्धालु सहभागी हुने गर्छन्।














