काठमाडौँ, ३ मंसिर । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको छ।
बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पर्चा वितरण गर्दै अभियानले तिब्बती तथा दलाई लामासम्बन्धी गतिविधि र एक चीन नीतिविपरीतका क्रियाकलाप रोक्न सरकारसँग माग गरेको हो।
अभियानका अजय सोडारीले नेपाललाई विदेशी हस्तक्षेपको केन्द्र बनाउन खोजिएको आशंका व्यक्त गर्दै राष्ट्रिय हितविपरीतका गतिविधि तत्काल नियन्त्रण गर्नुपर्ने बताए। दलाई लामाका प्रतिनिधिहरूको नेपाल भ्रमणप्रति पनि उनले असन्तुष्टि जनाए।
त्यस्तै, अभियानले लुम्बिनी विकास कोषकी उपाध्यक्ष छुइङ डोल्माको नियुक्तिप्रति समेत विरोध जनाएको छ। उनको नागरिकता तथा सम्पत्तिसम्बन्धी विषयमा उठेका प्रश्न सरकारले सम्बोधन नगरेको सोडारीको आरोप छ। यस विषयमा अभियानले कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।














