काठमाडौँ, ३ मंसिर । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले वर्तमान सरकारका गतिविधि निरंकुश, स्वेच्छाचारी र प्रतिशोधपूर्ण बन्दै गएको आरोप लगाएकी छन्।
बिहीबार एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै भण्डारीले सरकारले फरक विचार राख्ने व्यक्ति तथा सञ्चारमाध्यमलाई निशाना बनाएको दाबी गरिन्। उनले राजनीतिक असहमतिका आधारमा कानुनको दुरुपयोग गर्न नहुने भन्दै निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट विवाद समाधान गर्नुपर्ने बताइन्।
लोकतन्त्रमा संसद्, प्रतिपक्ष, स्वतन्त्र प्रेस र संवैधानिक निकायको मर्यादा कायम हुनुपर्ने उल्लेख गर्दै उनले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि हुने कुनै पनि हस्तक्षेप एमालेका लागि स्वीकार्य नहुने चेतावनी दिइन्।
भण्डारीले संविधान र लोकतान्त्रिक मूल्यको रक्षाका लागि एमाले आन्दोलनमा उत्रिनसमेत तयार रहेको बताइन्। साथै, राजनीतिक दलहरूलाई प्रतिशोधको राजनीति त्यागेर संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटो अपनाउन आग्रह गरिन्।














