काठमाडौं, ७ कात्तिक । फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनको सरकार, बढ्दो महँगी र सामाजिक असमानताको विरोधमा शनिबार देशभर प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा प्रहरीसँग तनाव बढेपछि १३५ जनालाई पक्राउ गरिएको गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।
सरकारले गत साता भएका हिंसा, लुटपाट र आगजनीलाई ध्यानमा राख्दै पेरिस, मार्सेली र लियोनलगायत सहरमा सुरक्षा व्यवस्था कडा पारेको छ। शनिबार दिउँसोसम्म करिब ३५ हजार मानिस प्रदर्शनमा सहभागी भएको जनाइएको छ।
नान्टेस र लियोनमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। केही स्थानमा शान्तिपूर्ण र्यालीसमेत निकालिएको थियो।
प्रदर्शनकारीले सरकारले जनताको आवाज नसुनेको, करको भार बढाएको र धनी वर्गलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। उनीहरूले रोजगारी, शिक्षा र समान अवसरको माग गर्दै सरकारको नीतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
यसैबीच, वामपन्थी नेता जिन–लुक मेलेनचोनले पनि पेरिसको प्रदर्शनमा सहभागी हुँदै जनताको माग सम्बोधन गर्न राष्ट्रपति म्याक्रोनलाई आग्रह गरेका छन्। फ्रान्समा बढ्दो असन्तुष्टिको प्रभाव अन्य युरोपेली देशमा पनि पर्न सक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ।
एजेन्सी














