एजेन्सी । इरान, अमेरिका र इजरायलबीच जारी युद्ध थप चर्किने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप कडा सैन्य कारबाही हुन सक्ने संकेत दिएपछि मध्यपूर्वमा तनाव बढेको छ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, इजरायल र अमेरिकाले आगामी निर्वाचनपछि इरानका आणविक तथा ऊर्जा केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र बनाउने रणनीति बनाएको बताइएको छ।
यसैबीच, इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रजाईले आक्रमण भए खाडीका सात देशमा रहेका अमेरिकी प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डेटा सेन्टर र साउदी अराम्कोका ऊर्जा संरचनालाई निशाना बनाउने चेतावनी दिएका छन्।
युद्धका कारण विश्वको करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुने हर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न भएको र व्यापारिक जहाजमाथिका आक्रमणले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप दबाब परेको विवरणमा उल्लेख छ।
बढ्दो सुरक्षा चुनौतीबीच बेलायतले साउदी अरबको सुरक्षाका लागि टाइफुन लडाकु विमान तैनाथ गरेको छ। अमेरिकाले पनि साउदी अरबमा रहेका गैरअत्यावश्यक कूटनीतिक कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाउन निर्देशन दिएको बताइएको छ।
कूटनीतिक प्रयास प्रभावकारी हुन नसके युद्धले विश्व ऊर्जा बजारलाई लामो समयसम्म असर पार्न सक्ने चिन्ता बढेको छ।














