काठमाडौं, ६ कात्तिक । वेब प्रविधि पीएचपीमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहितका केही सेवा अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण सेवा बन्द गरिएको जनाएको हो। यसबाट सर्वसाधारण तथा वित्तीय क्षेत्रका सरोकारवालामा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
बैंकले अत्यावश्यक सूचना तथा जानकारीका लागि आधिकारिक सामाजिक सञ्जाल हेर्न आग्रह गरेको छ। साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक, सेवा प्रदायक र विप्रेषण कम्पनीलाई सुरक्षा सतर्कता अपनाउन, प्रणाली मजबुत बनाउन तथा नियमित निगरानी बढाउन अनुरोध गरेको छ।














