काठमाडौं, ६ कात्तिक । अमेरिका र इजरायलले पुनः आक्रमण गरे खाडी क्षेत्रका सात देशमा रहेका अमेरिकी ऊर्जा, डेटा सेन्टर तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी संरचनालाई निशाना बनाउने इरानले चेतावनी दिएको छ।
इरानी अधिकारी मोहसिन रजाईले युद्ध चर्किए अमेरिकी लगानीका प्रविधि र ऊर्जा संरचनामाथि आक्रमण हुन सक्ने बताएका छन्। उनले हर्मुज जलडमरूमध्य खुला गर्ने र वार्ता पुनः सुरु गर्ने विषयमा विभिन्न सर्तसमेत अघि सारेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न सैन्य कारबाही आवश्यक रहेको दाबी गरेका छन्। उनले थप आक्रमणको सम्भावनालाई पनि नकारेका छैनन्।
सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले खाडी क्षेत्रमा तनाव बढाएको छ। युद्धविराम प्रयास असफल भएपछि ऊर्जा बजार, इन्धनको मूल्य र क्षेत्रीय सुरक्षामा थप दबाब परेको विवरण सार्वजनिक भएका छन्।














