काठमाडौं, ५ कात्तिक। शक्तिशाली समुद्री आँधी चम्पीको प्रभाव बढेपछि ताइवानले स्थल क्षेत्रमा समेत चेतावनी जारी गरेको छ।
आँधीका कारण ताइवान र जापानमा २०० भन्दा बढी उडान रद्द भएका छन् भने अमेरिका र जापानको संयुक्त सैन्य अभ्याससमेत प्रभावित भएको छ।
ताइवानको मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक हावाको गति २२७ किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको छ। तटीय क्षेत्रमा ६ मिटरभन्दा अग्ला छाल आउन सक्ने र उत्तरी ताइवानका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
ताइवानका राष्ट्रपति लाइ चिङ–तेले सर्वसाधारणलाई आवश्यक पूर्वतयारी गर्न तथा पहाडी र तटीय क्षेत्रमा नजान आग्रह गरेका छन्। आँधीका कारण ताइवानमा १२५ उडान रद्द भएका छन्।
यस्तै, जापानका प्रमुख विमान सेवा कम्पनीहरूले बिहीबारदेखि आइतबारसम्म १०० भन्दा बढी उडान रद्द गर्दा ११ हजारभन्दा बढी यात्रु प्रभावित हुने भएका छन्।
आँधीले ताइवाननजिक जापानी टापुहरूमा जारी अमेरिका–जापानको संयुक्त सैन्य अभ्यास ‘किन स्वोर्ड’ लाई समेत असर पारेको छ। अभ्यासमा करिब ५६ हजार सैनिक सहभागी छन्।
सम्भावित मार्गमा ताइवानको उत्तरपूर्वी भाग, चीनको तटीय क्षेत्र हुँदै जापानको दक्षिणी भाग पर्ने अनुमान गरिएको छ। आँधीको प्रभावका कारण दुवै देशका तटीय तथा पहाडी क्षेत्रमा सतर्कता बढाइएको छ।














