जनकपुर, २८ असोज। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै सवारी साधनको चाप व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम उल्लङ्घन नियन्त्रण गर्न धनुषामा प्रहरीले संयुक्त चेकिङ अभियानलाई तीव्रता दिएको छ।
तालुक कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल धनुषाको संयुक्त टोलीले दैनिक रूपमा चेकिङ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल धनुषाका प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालको कमाण्डमा अभियान सञ्चालन भइरहेको जनाइएको छ।
चाडपर्वको समयमा सवारी साधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्नुका साथै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने तथा मोडिफाई गरिएका मोटरसाइकलबाट हुने जोखिम नियन्त्रण गर्ने उद्देश्यले संयुक्त चेकिङलाई नियमित बनाइएको हो।
प्रहरीले सवारी चालकलाई अनुशासित भएर सवारी चलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सडक सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेको छ। ट्राफिक नियमको पालना र सावधानीपूर्वक सवारी सञ्चालनले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने प्रहरीको भनाइ छ।
त्यसैगरी, सवारी दुर्घटना, ट्राफिक समस्या वा अन्य आपत्कालीन अवस्थाबारे जानकारी तथा सहयोग आवश्यक परेमा प्रहरीको टोल फ्री नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।














