काठमाडौं, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आएको लेदो र गेग्रानसहितको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ।
बाढीले पैयूँ र बगर गाउँका करिब ३५ देखि ४० घर तथा बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलमा रहेको क्याम्प बगाएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीले केही विद्यालय, उपकरण तथा चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी क्षेत्रमा पनि क्षति पुगेको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
चुमनुब्री गाउँपालिका–६ लोप्पामा सुक्खा पहिरो खसेर नदी थुनिएपछि आइतबार बिहान करिब ४ बजे बाढी आएको प्रारम्भिक जानकारी छ।
नदीको बहाव अनिश्चित रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
प्रशासनले सिर्दिबाससहित धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।














