काठमाडौं, २५ असोज । गोरखाको चुमनुम्ब्री गाउँपालिका–६ चुम्चेत क्षेत्रबाट आएको लेदो र गेग्रानसहितको आकस्मिक बाढी बूढीगण्डकी नदीमा मिसिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाट क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी आरुघाटसम्म पुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ। जोखिममा रहेका क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत समेत सचेत गराइएको छ।
बाढी आउनुको कारण खुल्न सकेको छैन। माथिल्लो क्षेत्रमा पहिरोले पानीको बहाव रोकेर पछि बाँध फुटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल प्रहरीले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ।














