काठमाडौं, २३ असोज । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब २२ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनीहरूको साथबाट २१ किलो ७५० ग्राम सुन बरामद भएको जानकारी दिएको हो।
पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्। उनीहरूलाई बिहीबार राति बुढानीलकण्ठ स्थित एक घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले भाडामा लिएको घरमा सुन प्रशोधन गर्ने काम गर्दै आएका थिए। उक्त स्थानबाट सुन गाल्ने मेसिनसमेत बरामद गरिएको छ। बरामद सुनमध्ये १० किलो ९९७ ग्राम तयारी अवस्थामा रहेको र १० किलो ७५२ ग्राम प्रशोधन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।














